पहिलो राजा ७:१-५१
७ सुलेमानले आफ्नो निम्ति महल बनाए। महल बनाउन तिनलाई १३ वर्ष लाग्यो।+
२ तिनले ‘लेबनानको वन-भवन’ बनाए।+ त्यसको लम्बाइ १०० हात,* चौडाइ ५० हात र उचाइ ३० हात थियो। देवदारको काठबाट बनेका खम्बाहरूको चार लहरमाथि यो भवन ठड्याइएको थियो। ती खम्बाहरूमाथि देवदारका निदालहरू तेर्स्याइएका थिए।+
३ त्यसका दलिनहरू पनि खम्बाहरूमा तेर्स्याएर राखिएको थियो। त्यसमाथि देवदारका फल्याकहरू लगाइएका थिए। ती* जम्मा ४५ वटा थिए, हरेक लहरमा १५-१५ वटा।
४ यस भवनमा चौकोस भएका झ्यालहरू थिए। ती झ्यालहरू तीन तहमा थिए। प्रत्येक झ्यालको पल्लोपट्टि अर्को झ्याल थियो र ती झ्यालहरू पनि तीन तहमा थिए।
५ यस भवनका सबै ढोका र चौकोस वर्गाकार* थिए। एकअर्काको आमनेसामने तीन तहमा भएका सबै झ्यालको अगाडिपट्टिको चौकोस पनि वर्गाकार नै थियो।
६ तिनले ‘खम्बाहरूको भवन’* बनाए। त्यसको लम्बाइ ५० हात र चौडाइ ३० हात थियो। त्यसमा खम्बाहरू र छत भएको एउटा दलान पनि थियो।
७ तिनले ‘सिंहासनको भवन’* पनि बनाए,+ जहाँ बसेर तिनी न्याय गर्थे। त्यसलाई ‘न्याय-भवन’ पनि भनिन्थ्यो।+ त्यस भवनको भित्रपट्टि भुईँदेखि छतसम्म देवदारका फल्याकहरू बिछ्याइएका थिए।
८ त्यस भवनको अर्कोपट्टि भएको चोकमा तिनले आफू बस्नको लागि महल बनाए।+ महलको बनौट त्यस भवनको जस्तै थियो। सुलेमानले त्यो भवनजस्तै अर्को एउटा भवन फारोकी छोरीको लागि बनाए, जससित तिनले विवाह गरेका थिए।+
९ यी सबै भवन दामी-दामी ढुङ्गाहरूले बनाइएका थिए।+ ती ढुङ्गाहरू नापअनुसार काटिएका थिए र ढुङ्गा काट्ने आरोद्वारा ती ढुङ्गाका पाटाहरू चारैतिर समतल पारिएका थिए। सबै भवनको जगदेखि गारोको माथिसम्मै अनि ठूलो चोकमा* समेत यस्ता ढुङ्गाहरू प्रयोग गरिएका थिए।+
१० ती भवनहरूको जग हाल्न दामी-दामी अनि ठूलठूला ढुङ्गाहरू प्रयोग गरिएका थिए। कुनै-कुनै ढुङ्गा १० हातका र अरूचाहिँ ८ हातका थिए।
११ यी ढुङ्गाहरूमाथि ठड्याइएको गारोमा पनि नापअनुसार काटिएका दामी-दामी ढुङ्गाहरू र देवदारका काठहरू प्रयोग गरिएका थिए।
१२ ठूलो चोकको पर्खालमा चाहिँ काटेर तयार पारिएको ढुङ्गाको तीन सल* थियो अनि चौथो सलचाहिँ देवदारको काठको थियो। यो पर्खाल यहोवा परमेश्वरको भवनलाई र दलानलाई+ घेरेको भित्री चोकको+ पर्खालजस्तै गरी बनाइएको थियो।
१३ राजा सुलेमानले आफ्ना मानिसहरू पठाएर टायरबाट हिरामलाई झिकाए।+
१४ उनकी विधवा आमा नप्तालिको कुलकी थिइन्। उनका बुबा भने टायरका थिए, जो तामाको काम गर्थे।+ हिरामसित तामाको* हर काम गर्ने सीप, समझ+ र अनुभव थियो। त्यसैले उनी राजा सुलेमानकहाँ गए र तिनले अह्राएको सबै काम गरे।
१५ उनले तामा ढालेर दुई वटा खम्बा बनाए।+ हरेक खम्बाको उचाइ १८ हात र गोलाइ १२ हात थियो।*+
१६ उनले तामा ढालेर दुई वटै खम्बाको शिर पनि बनाए। दुई वटै खम्बाको शिरको उचाइ पाँच-पाँच हात थियो।
१७ दुई वटै खम्बाको शिरमा जाली थिए र त्यसलाई डोरीजस्तै गरी बटारिएका ससाना सिक्रीहरूले सजाइएका थिए।+ ती दुवै खम्बाको शिरमा सात-सात वटा जाली थिए।
१८ खम्बाको शिरलाई सजाउन उनले जालीको वरिपरि दुई लहर अनारका आकृतिहरू पनि बनाए। दुवै खम्बाको शिरलाई उनले यसरी नै सजाए।
१९ शिरको टुप्पोचाहिँ लिली फूलको आकारको थियो, जसको उचाइ चार हात थियो।
२० दुई वटै खम्बाको शिरको तल्लो भाग भुक्क उठेको थियो र त्यसमा बटारिएका सिक्रीहरूले सजाइएका जालीहरू थिए। अनि प्रत्येक शिरको वरिपरि २०० वटा अनारका आकृतिहरू थिए।+
२१ उनले यी खम्बाहरू मन्दिरको* दलानको अगाडि ठड्याए।+ उनले एउटा खम्बा दायाँपट्टि* ठड्याए र त्यसलाई याकिन* भन्ने नाम दिए। उनले अर्को खम्बाचाहिँ बायाँपट्टि* ठड्याए र त्यसलाई बोअज* भन्ने नाम दिए।+
२२ खम्बाहरूको माथिल्लो भागको बनौट लिली फूलजस्तै थियो। यसरी खम्बाको काम सिद्धियो।
२३ त्यसपछि उनले धातु* ढालेर एउटा विशाल खड्कुँलो बनाए,+ जसलाई ‘समुद्र’ भन्ने नाम दिइयो। त्यो गोलाकार थियो। त्यसको मुखको व्यास १० हात* र गोलाइ ३० हात थियो।* त्यसको उचाइ ५ हात थियो।+
२४ खड्कुँलोको मुखको तलतिर दुई लहर खरबुजाजस्तो देखिने ससाना फलका आकृतिहरू थिए।+ खड्कुँलोको चारैतिर एक-एक हातभित्र दस-दस वटा त्यस्ता आकृतिहरू थिए। यी आकृतिहरू खड्कुँलोसँगै ढालेर बनाइएका थिए।
२५ त्यो खड्कुँलोलाई १२ वटा साँढेमाथि अड्याइएको थियो।+ तीन वटा साँढे उत्तरतिर, तीन वटा पश्चिमतिर, तीन वटा दक्षिणतिर र तीन वटा पूर्वतिर फर्केका थिए। ती सबै साँढेको पछिल्तिरको भाग भित्रपट्टि फर्केको थियो। त्यस खड्कुँलोलाई ती साँढेहरूमाथि अड्याइएको थियो।
२६ त्यो खड्कुँलो चार अङ्गुल* बाक्लो थियो। त्यसको मुख कचौराको मुखजस्तो थियो; त्यो फक्रेको लिली फूलजस्तै देखिन्थ्यो। त्यस खड्कुँलोमा २ हजार बाथ* पानी अटाउँथ्यो।
२७ त्यसपछि उनले तामाका १० वटा ठेलागाडा* बनाए।+ प्रत्येक ठेलागाडाको लम्बाइ चार हात, चौडाइ चार हात र उचाइ तीन हात थियो।
२८ ठेलागाडाको बनौट यस्तो थियो: त्यसको चारैतिर पातैपाता थिए र ती पाताहरू डन्डीहरूको बीच-बीचमा थिए।
२९ डन्डीहरूको बीच-बीचमा भएका ती पाताहरूमा सिंह,+ साँढे र करूबका+ आकृतिहरू थिए। डन्डीहरूमा पनि त्यस्तै आकृतिहरू थिए। सिंह र साँढेका आकृतिहरूको तल र माथि मालाका आकृतिहरू थिए।
३० प्रत्येक ठेलागाडामा तामाका चार वटा पाङ्ग्रा र तामाकै धुराहरू * थिए। ठेलागाडाको चारै कुनामा भएका टेकोहरूमा ती पाङ्ग्राहरू अड्याइएका थिए। बाटा अड्याउनका लागि पनि टेकोहरू थिए, जसमा मालाका आकृतिहरू थिए। यी आकृतिहरू टेकोहरूसँगै ढालेर बनाइएका थिए।
३१ ठेलागाडाको माथिल्लो भागमा घेरा थियो र घेरामा बुट्टाहरू खोपिएका थिए। यो घेरामाथि बाटा बिसाइन्थ्यो। घेरादेखि बाटाको पिँधसम्मको नाप एक हात थियो। तर टेकोदेखि घेराको मुखसम्मको जम्मा उचाइ भने डेढ हात थियो। घेरामा भएका पाताहरू गोलो नभई चारपाटे थिए।
३२ ठेलागाडाका पाताहरूमुनि चार वटा पाङ्ग्रा थिए र पाङ्ग्राहरूका टेकोहरू ठेलागाडासँगै जोडिएका थिए। प्रत्येक पाङ्ग्राको उचाइ डेढ हात थियो।
३३ ती पाङ्ग्राहरू रथका पाङ्ग्राहरूजस्तै थिए। टेको, चक्का, सुइरा र नाभि धातु ढालेर बनाइएका थिए।
३४ प्रत्येक ठेलागाडाको चारै कुनामा चार वटा टेको थियो। ती टेकोहरूलाई ठेलागाडासँगै ढालेर बनाइएको थियो।
३५ ठेलागाडाको माथिल्लो भागमा एउटा पेटी थियो। त्यो गोलाकार थियो र त्यसको उचाइ आधा हात थियो। ठेलागाडाको माथिल्लो भागमा भएका चौकोसहरू र पाताहरू पनि ठेलागाडासँगै ढालेर बनाइएका थिए।
३६ ती चौकोसहरू र पाताहरूमा भएको खाली ठाउँअनुसार उनले करूबका, सिंहका र खजुरको बोटका आकृतिहरू बनाए अनि चारैतिर मालाको आकृति पनि बनाए।+
३७ यसरी उनले १० वटा ठेलागाडा बनाए।+ ती सबै एउटै तरिकामा ढालेर बनाइएका थिए;+ सबैको नाप र आकार उस्तै थियो।
३८ उनले तामाका १० वटा बाटा बनाए।+ प्रत्येक बाटामा ४० बाथ पानी अटाउँथ्यो। प्रत्येक बाटा चार हातको थियो।* दस वटै ठेलागाडाको निम्ति एक-एक वटा बाटा थियो।
३९ त्यसपछि उनले पाँच वटा ठेलागाडा भवनको दायाँतिर अनि पाँच वटा ठेलागाडा भवनको बायाँतिर राखे। उनले ‘समुद्र’ भनिने विशाल खड्कुँलोलाई चाहिँ भवनको दायाँतिर, दक्षिण-पूर्व दिशामा राखे।+
४० हिरामले+ बाटाहरू, साबेलहरू+ र कचौराहरू+ पनि बनाए। यसरी हिरामले यहोवा परमेश्वरको भवनमा ती सबै काम गरिसिद्ध्याए, जुन राजा सुलेमानले उनलाई दिएका थिए।+ उनले यी सबै थोक बनाए:
४१ दुई वटा खम्बा+ र ती खम्बाहरूका शिरहरू, जुन कचौरा आकारका थिए, ती कचौरा आकारका शिरहरूलाई सिँगार्न दुई वटा जाली,+
४२ ती दुई वटा जालीको निम्ति ४०० वटा अनारका आकृति,+ प्रत्येक जालीको निम्ति दुई लहर अनारका आकृति, जसले दुई वटा खम्बाका शिरलाई सिँगारेका थिए,
४३ दस वटा ठेलागाडा+ र ठेलागाडामा राखिने १० वटा बाटा,+
४४ ‘समुद्र’ भनिने विशाल खड्कुँलो+ र त्यसमुनि भएका १२ वटा साँढे
४५ अनि कोइला राख्ने भाँडाहरू, साबेलहरू, कचौराहरू र सबै सरसामान, जुन टल्काइएका तामाले बनाइएका थिए। राजा सुलेमानले भनेअनुसारै हिरामले यहोवा परमेश्वरको भवनको निम्ति सबै सरसामान बनाएका थिए।
४६ राजाले यी सबथोक यर्दनको इलाकामा सुक्कोथ र जारेथानको बीचमा बनाए। यी सबथोक माटोका साँचाहरूमा ढालेर बनाइएका थिए।
४७ सुलेमानले कुनै पनि सरसामान जोखेनन् किनकि ती असाध्यै धेरै थिए। त्यसैले ती सब बनाउन कति तामा लाग्यो भनेर थाह पाउन सम्भव थिएन।+
४८ सुलेमानले यहोवा परमेश्वरको भवनको निम्ति यी सब सरसामान बनाए:+ सुनको वेदी, भेटीको रोटी* राख्न सुनको टेबुल,+
४९ निखुर सुनका पानसहरू,+ जुन भित्री कोठाको अगाडिपट्टि दायाँतिर पाँच वटा र बायाँतिर पाँच वटा राखिएका थिए, सुनका फूलहरू,+ सुनका दियोहरू र सुनका चिम्टाहरू,+
५० बाटाहरू, सलेदो निभाउने साधनहरू,+ कचौराहरू, प्यालाहरू+ र सलेदोदानीहरू।*+ यी सबै निखुर सुनले बनाइएका थिए; साथै भित्री कोठा अर्थात् महापवित्र कोठाको ढोकाको लागि+ र मन्दिरको* ढोकाको लागि+ सुनका कब्जाहरू।
५१ यसरी राजा सुलेमानले यहोवा परमेश्वरको भवनको निम्ति आफूले गर्नुपर्ने सबै काम गरिसिद्ध्याए। त्यसपछि तिनले आफ्ना बुबा दाउदले पवित्र पारेका सरसामान त्यस भवनमा ल्याए।+ तिनले सुन, चाँदी र अरू सबै थोक यहोवा परमेश्वरको भवनको भण्डारमा राखे।+
फुटनोटहरू
^ एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
^ यसले दलिनहरूलाई जनाएको हुन सक्छ।
^ वा “आयताकार।”
^ वा “खम्बाहरूको दलान।”
^ वा “सिंहासनको दलान।”
^ अर्थात्, बाहिरी चोकमा।
^ पर्खाल आदि लगाउँदा राखिने ढुङ्गाको तह।
^ वा “काँसाको।” यस अध्यायमा जहाँ-जहाँ “तामा” लेखिएको छ, ती सबै ठाउँमा यो फुटनोट लागू हुन्छ।
^ शा., “खम्बालाई एक फन्को लगाउन १२ हात लामो डोरी चाहिन्थ्यो।”
^ वा “दक्षिणतिर।”
^ यसको अर्थ “सामर्थ्यसित” हुन सक्छ।
^ वा “उत्तरतिर।”
^ यसको अर्थ हो, “उहाँले [अर्थात्, यहोवाले] स्थिर पारून्।”
^ यहाँ “मन्दिर”-ले पवित्र कोठालाई जनाउँछ।
^ वा “तामा।”
^ शा., “त्यसको मुखको एक छेउदेखि अर्को छेउसम्मको दूरी १० हात थियो।”
^ शा., “त्यसलाई एक फन्को लगाउन ३० हात लामो डोरी चाहिन्थ्यो।”
^ लगभग ७.४ सेन्टिमिटर (२.९ इन्च)। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
^ एक बाथ भनेको २२ लिटर हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
^ वा “पानी बोक्ने गाडा।”
^ पाङ्ग्रा अड्याउन तेर्सो पारेर राखिने डन्डा।
^ वा “प्रत्येक बाटाको व्यास चार हात थियो।”
^ बलिसकेको सलेदो राख्ने भाँडो।
^ यहाँ “मन्दिर”-ले पवित्र कोठालाई जनाउँछ।