दोस्रो राजा २०:१-२१
२० त्यस समयमा हिजकियाह साह्रै बिरामी परे र मर्नै लागे।+ आमोजका छोरा भविष्यवक्ता यसैया तिनीकहाँ आए र यसो भने, “यहोवा परमेश्वर भन्नुहुन्छ: ‘आफ्नो घरानालाई भन्नुपर्ने कुराहरू भन किनकि अब तिम्रो रोग निको हुनेछैन, तिमी मर्नेछौ।’”+
२ यो सुनेर हिजकियाहले आफ्नो अनुहार भित्तातिर फर्काए र यहोवा परमेश्वरलाई यसरी प्रार्थना गर्न थाले:
३ “हे यहोवा! बिन्ती छ, म कसरी आफ्नो पूर्ण हृदयले अनि वफादार भएर तपाईँसामु हिँडेको थिएँ, त्यो नबिर्सनुहोस्। तपाईँको नजरमा जे असल छ, मैले त्यही गरेँ।”+ अनि हिजकियाह डाँको छोडेर रुन थाले।
४ यसैया त्यहाँबाट हिँडेर महलको बीचको चोकमा पुग्न नपाउँदै यहोवा परमेश्वरको यो सन्देश उनीकहाँ आयो:+
५ “फर्केर जाऊ र मेरो प्रजाको अगुवा हिजकियाहलाई यसो भन, ‘तिम्रा पुर्खा दाउदका परमेश्वर यहोवा यसो भन्नुहुन्छ: “मैले तिम्रो बिन्ती सुनेँ र तिमीले बगाएको आँसु पनि देखेँ।+ त्यसैले म तिमीलाई निको पार्नेछु।+ तिमी पर्सि* यहोवा परमेश्वरको भवनमा जानेछौ।+
६ म तिम्रो आयु अझै १५ वर्ष लम्ब्याइदिनेछु। अनि म तिमीलाई र यस सहरलाई अस्सेरियाका+ राजाको हातबाट जोगाउनेछु। म आफ्नै खातिर र आफ्ना सेवक दाउदको खातिर यस सहरको रक्षा गर्नेछु।”’”+
७ तब यसैयाले यसो भने: “सुकेका अन्जिरको लेप* बनाएर ल्याओ।” तिनीहरूले लेप ल्याए अनि राजाको पिलोमा लगाइदिए। त्यसपछि राजा बिस्तारै निको हुँदै गए।+
८ हिजकियाहले यसैयालाई यस्तो प्रश्न सोधेका थिए: “यहोवा परमेश्वरले मलाई निको पार्नुहुनेछ र म पर्सि* यहोवा परमेश्वरको भवनमा जान पाउनेछु भन्ने कुराको चिन्ह के हुनेछ?”+
९ यसैयाले जवाफ दिए: “यहोवा परमेश्वरले भन्नुभएको यो कुरा अवश्य पूरा हुनेछ भनेर देखाउन यहोवा परमेश्वरले तपाईँलाई यस्तो चिन्ह दिनुहुनेछ: तपाईँ भऱ्याङमा* परेको छाया १० खुट्किला अघि सरेको चाहनुहुन्छ कि १० खुट्किला पछि सरेको चाहनुहुन्छ?”+
१० हिजकियाहले भने: “छाया १० खुट्किला अघि सर्नु त सजिलै कुरा हो तर १० खुट्किला पछि सर्नु भने गाह्रो कुरा हो।”
११ तब भविष्यवक्ता यसैयाले यहोवा परमेश्वरलाई पुकारे अनि परमेश्वरले आहाजको भऱ्याङमा अगाडि सरिसकेको छायालाई १० खुट्किला पछाडि सार्नुभयो।+
१२ त्यसबेला बेबिलोनका राजा बरोदक-बलदान, जो बलदानका छोरा थिए, उनले हिजकियाह बिरामी परेका थिए भनेर सुने। त्यसैले उनले आफ्ना सन्देशवाहकहरूको हातमा हिजकियाहलाई चिठी र उपहार पठाए।+
१३ हिजकियाहले उनीहरूलाई स्वागत गरे अनि आफ्नो पूरै ढुकुटी देखाए।+ तिनले सुन, चाँदी, बाल्सम तेल* र अन्य असल तेलका साथै आफ्नो हतियार-गृह र आफ्नो भण्डारमा भएका सबै थोक देखाए। तिनले उनीहरूलाई आफ्नो महलमा र आफ्नो राज्यमा नदेखाएको कुरा केही थिएन।
१४ त्यसपछि भविष्यवक्ता यसैया राजा हिजकियाहकहाँ आए र तिनलाई सोधे: “यी मानिसहरूले के भने र यिनीहरू कहाँबाट आएका हुन्?” हिजकियाहले यस्तो जवाफ दिए: “यिनीहरू टाढाको देश बेबिलोनबाट आएका हुन्।”+
१५ यसैयाले फेरि सोधे: “तिनीहरूले तपाईँको महलमा के-के देखे?” हिजकियाहले भने: “तिनीहरूले मेरो महलमा भएका सबै कुरा देखे। मेरो भण्डारमा मैले तिनीहरूलाई नदेखाएको कुरा केही थिएन।”
१६ तब यसैयाले हिजकियाहलाई यसो भने: “यहोवा परमेश्वरको वचन सुन्नुहोस्।+
१७ यहोवा परमेश्वर भन्नुहुन्छ, ‘हेर! यस्तो दिन आउँदै छ, जब तिम्रो महलमा भएका र तिम्रा पुर्खाहरूले अहिलेसम्म जम्मा गरेका सबै थोक बेबिलोन लगिनेछ।+ केही बाँकी छोडिनेछैन।
१८ अनि तिमीबाट जन्मने तिम्रा छोराहरूमध्ये केहीलाई लगिनेछ+ र तिनीहरू बेबिलोनका राजाको दरबारका अफिसर हुनेछन्।’”+
१९ तब हिजकियाहले यसैयालाई यसो भने: “तपाईँले सुनाउनुभएको यहोवा परमेश्वरको वचन न्यायोचित छ।”+ तिनले यसो पनि भने: “मेरो जीवनकालमा शान्ति र सुरक्षा छाउनु नै मेरो लागि ठूलो कुरा हो।”+
२० हिजकियाहको जीवनकालका बाँकी घटनाहरू, तिनको वीरता अनि तिनले कसरी कुण्ड र नहर बनाएर+ सहरसम्म पानी ल्याए,+ त्यसबारे यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
२१ हिजकियाह आफ्ना पितृहरूसितै सुते।+ तिनीपछि तिनका छोरा मनस्से+ राजा भए।+
फुटनोटहरू
^ शा., “तेस्रो दिनमा।”
^ शा., “सुकेका अन्जिरहरूलाई थिचेर बनाइने रोटी।”
^ शा., “तेस्रो दिनमा।”
^ सायद यी भऱ्याङहरूलाई सौर्यघडीलाई जस्तै समयको हिसाब राख्न प्रयोग गरिन्थ्यो।
^ कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।