दोस्रो राजा ६:१-३३
६ ‘भविष्यवक्ताहरूका छोराहरू’-ले*+ एलिसालाई भने: “हेर्नुहोस्! यो ठाउँ साह्रै साँघुरो भयो।
२ कृपया हामीलाई अनुमति दिनुहोस् र हामी यर्दन जानेछौँ। त्यहाँ पुगेपछि हामी सबैले एक-एक वटा मुढा ल्याएर त्यहाँ एउटा घर बनाउनेछौँ।” एलिसाले जवाफ दिए: “हुन्छ, जाओ।”
३ उनीहरूमध्ये एक जनाले भने: “बिन्ती छ, तपाईँ पनि हामीसँगै आउनुहोस्।” तब तिनले भने: “हुन्छ, म आउँछु।”
४ त्यसैले तिनी उनीहरूसितै यर्दन गए। त्यहाँ पुगेपछि उनीहरूले रूख काट्न थाले।
५ रूख काटिरहेको बेला उनीहरूमध्ये एक जनाको बन्चरो* बिँडबाट फुस्केर पानीमा खस्यो। तब ऊ यसो भन्दै बिलौना गर्न थाल्यो: “लौ न! अब के गर्ने मालिक? त्यो बन्चरो त मैले मागेर ल्याएको थिएँ।”
६ साँचो परमेश्वरका सेवकले सोधे: “बन्चरो कहाँ खस्यो?” उसले तिनलाई बन्चरो खसेको ठाउँ देखायो। त्यसपछि तिनले एक टुक्रा काठ काटेर पानीमा फाले अनि बन्चरो पानीमा तैरियो।
७ तिनले भने: “त्यसलाई निकाल।” त्यसैले उसले आफ्नो हात पसारेर बन्चरो निकाल्यो।
८ एकपल्ट सिरियाका राजा इस्राएलसित लडाइँ गर्न गए।+ उनले आफ्ना सेवकहरूसित सरसल्लाह गरे अनि कुन ठाउँमा छाउनी हाल्ने भनेर पनि तिनीहरूलाई बताए।
९ तब साँचो परमेश्वरका सेवकले+ इस्राएलका राजालाई यस्तो खबर पठाए: “तपाईँ त्यहाँ नजानुहोस् किनकि सिरियालीहरू त्यहीँ आउँदै छन्।”
१० त्यसैले साँचो परमेश्वरका सेवकले इस्राएलका राजालाई जुन ठाउँमा नजानू भनेका थिए, त्यस ठाउँका मानिसहरूलाई राजाले सचेत गराए। एलिसाले इस्राएलका राजालाई थुप्रै पटक होसियार गराए र तिनले नजानू भनेको ठाउँमा राजा गएनन्।+
११ यसले गर्दा सिरियाका राजा रिसले चूर भए। त्यसैले उनले आफ्ना सेवकहरूलाई एक ठाउँमा भेला गरेर यसो भने: “मलाई भन! हामीमध्ये कोचाहिँ इस्राएलको राजापट्टि लागेको हो?”
१२ तब उनका एक जना सेवकले भने: “हे मेरा प्रभु! मेरा महाराज! हामीमध्ये कोही पनि तिनीपट्टि लागेका छैनौँ। यो सब इस्राएलको भविष्यवक्ता एलिसाको काम हो। उसले इस्राएलका राजालाई तपाईँले आफ्नो सुत्ने कोठाभित्र बोल्नुभएको कुरासमेत बताइदिन्छ।”+
१३ राजाले भने: “जाओ! ऊ कहाँ छ, पत्ता लगाओ। उसलाई पक्रन म मानिसहरू पठाउँछु।” पछि राजालाई यस्तो खबर दिइयो: “ऊ दोथानमा+ छ।”
१४ उनले तुरुन्तै घोडाहरू र रथहरूसहित आफ्नो ठूलो सेना पठाए। तिनीहरू राती नै त्यहाँ आइपुगे र सहरलाई घेरा हाले।
१५ साँचो परमेश्वरको सेवकका चाकर बिहान सबेरै उठेर बाहिर निस्कँदा उनले घोडाहरू र रथहरूसहित आएको सेनाले सहरलाई घेरेको देखे। यो देख्नेबित्तिकै उनले भने: “मालिक! मालिक! अब हामी के गरौँ?”
१६ तर एलिसाले भने: “नडराऊ!+ किनकि तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्।”+
१७ अनि तिनले यसरी प्रार्थना गर्न थाले: “हे यहोवा! बिन्ती छ, उसको आँखा खोलिदिनुहोस् र उसले पनि देख्न सकोस्।”+ यहोवा परमेश्वरले तुरुन्तै ती चाकरको आँखा खोलिदिनुभयो र उनले एलिसाको+ चारैतिरका डाँडा अग्निमय+ घोडाहरू र रथहरूले भरिएको देखे।
१८ जब सिरियालीहरू एलिसातर्फ अघि बढे, तब तिनले यहोवा परमेश्वरलाई यसरी प्रार्थना गरे: “बिन्ती छ, यिनीहरूलाई अन्धो बनाइदिनुहोस्।”+ एलिसाले बिन्ती गरेझैँ परमेश्वरले तिनीहरूलाई अन्धो बनाइदिनुभयो।
१९ त्यसपछि एलिसाले तिनीहरूलाई भने: “तिमीहरूले बाटो बिरायौ। तिमीहरू जुन सहरमा जान खोज्दै छौ, त्यो सहर यो होइन। मेरो पछि आओ। तिमीहरूले खोजेको मानिसकहाँ म तिमीहरूलाई पुऱ्याइदिन्छु।” तर एलिसाले तिनीहरूलाई सामरिया+ लगे।
२० सामरिया पुगेपछि एलिसाले भने: “हे यहोवा! यिनीहरूको आँखा खोलिदिनुहोस् र यिनीहरूले देख्न सकून्।” तब यहोवा परमेश्वरले तिनीहरूको आँखा खोलिदिनुभयो र तिनीहरूले आफू सामरिया सहरको बीचमा पुगेछौँ भनी थाह पाए।
२१ तिनीहरूलाई देखेपछि इस्राएलका राजाले एलिसालाई भने: “हे प्रभु!* के म यिनीहरूलाई मारिदिऊँ? म यिनीहरूलाई नाश गरिदिऊँ?”
२२ तर एलिसाले जवाफ दिए: “तपाईँले यिनीहरूलाई मार्नु हुँदैन। युद्धमा* बन्दी बनाएर ल्याएका मानिसहरूलाई के तपाईँ मार्नुहुन्छ र? यिनीहरूलाई रोटी र पानी खान दिनुहोस्+ अनि यिनीहरूको मालिककहाँ फर्काइदिनुहोस्।”
२३ त्यसैले राजाले ठूलो भोज दिए। तिनीहरूले खानपिन गरेपछि राजाले तिनीहरूलाई तिनीहरूका मालिककहाँ फर्काइदिए। त्यसपछि सिरियाका+ लुटेराहरूको दलले कहिल्यै इस्राएलमा पाइला टेकेनन्।
२४ पछि सिरियाका राजा बेन-हददले आफ्नो सारा सेनालाई एक ठाउँमा भेला गरे अनि गएर सामरियालाई+ घेराबन्दी गरे।
२५ तिनीहरूले सामरियालाई लामो समयसम्म घेराबन्दी गरे। त्यसले गर्दा सामरियामा ठूलो अनिकाल पऱ्यो।+ मानिसहरूले गधाको टाउको+ ८० टुक्रा चाँदीमा र ढुकुरको सुलीको एक चौथाइ कब* पाँच टुक्रा चाँदीमा किनबेच गर्न थाले।
२६ एकदिन इस्राएलका राजा सहरको पर्खालमाथि हिँड्दै गइरहेको बेला एक जना स्त्रीले यसो भन्दै गुहारिन्: “हे मेरा प्रभु! मेरा महाराज! हामीलाई मदत गर्नुहोस्।”
२७ तब राजाले भने: “यदि यहोवा परमेश्वरले नै तिमीहरूलाई मदत गर्नुभएको छैन भने म कसरी तिमीहरूलाई मदत गरूँ? म कहाँबाट तिमीहरूलाई अन्न, तेल वा मद्य ल्याएर दिऊँ?”
२८ राजाले उनलाई सोधे: “के भयो?” उनले जवाफ दिइन्: “यो स्त्रीले मलाई यसो भनेकी थिई, ‘तिम्रो छोरा ल्याऊ! आज हामी उसलाई मारेर खाऔँ अनि भोलिचाहिँ मेरो छोरा खाऔँला।’+
२९ त्यसैले हामीले मेरो छोरालाई उसिनेर खायौँ।+ भोलिपल्ट मैले उसलाई भनेँ: ‘तिम्रो छोरा ल्याऊ! हामी उसलाई मारेर खाऔँ।’ तर उसले आफ्नो छोरा लुकाई।”
३० ती स्त्रीको कुरा सुन्नेबित्तिकै राजाले आफ्नो लुगा च्याते।+ जब तिनी सहरको पर्खालमाथि हिँडिरहेका थिए, तब तिनले आफ्नो लुगाभित्र भाङ्ग्रा लगाएका रहेछन् भनी मानिसहरूले देखे।
३१ तब राजाले भने: “यदि मैले आज सापातका छोरा एलिसाको टाउको उडाइनँ भने परमेश्वरले मलाई त्यसै गरून्, अझ त्योभन्दा बढ्ता गरून्।”+
३२ एलिसा आफ्नो घरमा बसिरहेका थिए र नाइकेहरू पनि तिनीसँगै थिए। त्यही बेला राजाले आफ्नो अघिअघि एक जना सन्देशवाहक पठाए। तर त्यो सन्देशवाहक त्यहाँ आइपुग्नुअघि नै एलिसाले नाइकेहरूलाई भने: “हेर्नुहोस्! त्यो हत्याराको छोराले+ मेरो टाउको उडाउन आफ्नो मान्छे पठाउँदै छ। तपाईँहरू सचेत रहनुहोस्! त्यो सन्देशवाहक आउनेबित्तिकै ढोका बन्द गर्नुहोस् अनि ढोका ठेलेर बस्नुहोस् र ऊ भित्र छिर्न नपाओस्। उसको पछिपछि उसको मालिक पनि आइरहेको छ।”
३३ एलिसा बोल्दाबोल्दै त्यो सन्देशवाहक त्यहाँ आइपुग्यो। तब राजाले भने: “यो विपत्ति यहोवा परमेश्वरले नै ल्याउनुभएको हो। त्यसोभए म किन यहोवाको बाटो हेरेर बसूँ?”
फुटनोटहरू
^ “भविष्यवक्ताहरूका छोराहरू” भन्ने अभिव्यक्तिले भविष्यवक्ताहरूलाई प्रशिक्षण दिने केन्द्रलाई वा भविष्यवक्ताहरूको दललाई जनाएको हुन सक्छ।
^ वा “बन्चरोको टाउको।”
^ शा., “बुबा।”
^ वा “आफ्नो तरबार र धनुले।”
^ एक कब भनेको १.२२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।