दोस्रो समुएल ३:१-३९
३ साउलको घराना र दाउदको घरानाबीच लामो समयसम्म युद्ध चलिरह्यो। दाउद झन्झनै शक्तिशाली हुँदै गए+ तर साउलको घराना भने कमजोर हुँदै गयो।+
२ हेब्रोनमा छँदा दाउदका छोराहरू जन्मिए।+ तिनका जेठा छोरा अम्नोन थिए,+ जसलाई यिज्रेलकी अहिनोमले जन्माएकी थिइन्।+
३ तिनका माहिला छोरा किलाब थिए, जसलाई कर्मेली नाबालकी विधवा अबिगेलले जन्माएकी थिइन्।+ तिनका साहिँला छोरा अब्सालोम थिए,+ जसलाई गेसुरका राजा तल्मैकी छोरी माकाहले जन्माएकी थिइन्।+
४ तिनका काहिँला छोरा अदोनियाह थिए,+ जसलाई हग्गिथले जन्माएकी थिइन्। अनि ठाहिँला छोरा सेपत्याह थिए, जसलाई अबितलले जन्माएकी थिइन्।
५ दाउदका कान्छा छोराचाहिँ इथ्राम थिए, जसलाई दाउदकी पत्नी एग्लाहले जन्माएकी थिइन्। हेब्रोनमा जन्मेका दाउदका छोराहरू यी नै हुन्।
६ साउलको घराना र दाउदको घरानाबीच युद्ध चलिरहँदा अब्नेरले+ भने साउलको घरानामा आफूलाई झन्झन् शक्तिशाली बनाउँदै लगे।
७ साउलको रिज्पाह नाम गरेकी एक जना उपपत्नी थिइन्,+ जो अय्याकी छोरी थिइन्। इस्बोसेतले+ अब्नेरलाई सोधे: “तिमीले किन मेरो बुबाकी उपपत्नीसित यौनसम्बन्ध राख्यौ?”+
८ इस्बोसेतको कुरा सुनेर अब्नेर रिसले चूर भए र यसो भने: “म यहुदाको कुकुर हुँ र? आजसम्म मैले तपाईँका बुबा साउलको घराना, उहाँका दाजुभाइ र मित्रहरूप्रति अटल प्रेम देखाउँदै आएको छु। तपाईँलाई पनि मैले धोका दिएर दाउदको हातमा सुम्पेको छैन। तर आज मैले एउटी आइमाईको मामिलामा भूल गर्दा के तपाईँ मसित त्यसको हिसाब माग्नुहुन्छ?
९ यहोवा परमेश्वरले दाउदसित जुन कसम खानुभएको थियो, मैले त्यसैअनुसार गरिनँ भने उहाँले मलाई अत्यन्तै कडा सजाय देऊन्।+
१० उहाँले साउलको घरानाबाट राज्याधिकार खोस्ने अनि सारा इस्राएल र सारा यहुदामाथि अर्थात् दानदेखि बेर्सेबासम्मै दाउदको सिंहासन बसाल्ने कसम खानुभएको थियो।”+
११ त्यसपछि इस्बोसेतले अब्नेरलाई केही जवाफ दिन सकेनन् किनकि तिनी अब्नेरसित डराउँथे।+
१२ तब अब्नेरले सन्देशवाहकहरूमार्फत दाउदकहाँ तुरुन्तै यो सन्देश पठाए: “यस देशमाथि कसको अधिकार छ?” तिनले यसो पनि भने: “मसँग करार गर्नुहोस् र सारा इस्राएललाई तपाईँको पक्षमा ल्याउन म कुनै कसर बाँकी राख्नेछैनँ।”+
१३ दाउदले यस्तो जवाफ पठाए: “ठीक छ, म तिमीसित करार गर्नेछु। तर मेरो एउटा काम गरिदेऊ। तिमी मलाई भेट्न आउँदा साउलकी छोरी मिकललाई पनि साथमा ल्याउनू। होइन भने तिमी मेरो अगाडि देखै नपर्नू।”+
१४ त्यसपछि दाउदले आफ्ना सन्देशवाहकहरूमार्फत साउलका छोरा इस्बोसेतकहाँ यो सन्देश पठाए:+ “मलाई मेरी पत्नी मिकल फिर्ता देऊ, जससित मगनी गर्न मैले १०० जना पलिस्तियालीको खलडी* दामस्वरूप तिरेको थिएँ।”+
१५ त्यसैले मिकललाई ल्याउन इस्बोसेतले आफ्ना मानिसहरू तिनका पति पल्तिएलको घरमा पठाए,+ जो लेसका छोरा थिए।
१६ तर पल्तिएल मिकलको पछिपछि लागे अनि रुँदै-रुँदै बाहुरिमसम्मै आइपुगे।+ त्यसपछि अब्नेरले उनलाई भने: “फर्केर जाऊ!” तब उनी फर्केर गए।
१७ अब्नेरले इस्राएलका नाइकेहरूकहाँ यस्तो सन्देश पठाएका थिए: “केही समयदेखि तपाईँहरूले दाउदलाई आफ्ना राजा बनाउन खोज्नुभएको थियो।
१८ अब त्यसै गर्नुहोस् किनकि यहोवा परमेश्वरले दाउदलाई यसो भन्नुभएको छ: ‘म आफ्ना सेवक दाउदमार्फत+ आफ्नो प्रजा इस्राएलीहरूलाई पलिस्तियालीहरू र तिनीहरूका सारा शत्रुहरूको हातबाट जोगाउनेछु।’”
१९ त्यसपछि अब्नेरले बिन्यामिनीहरूसित कुरा गरे+ अनि हेब्रोन गए। किनकि तिनी दाउदलाई एकान्तमा भेटेर इस्राएलीहरू र बिन्यामिनीहरू कुन कुरामा सहमत भएका छन् भनी बताउन चाहन्थे।
२० जब अब्नेर आफ्ना २० जना मानिससित हेब्रोनमा दाउदकहाँ पुगे, तब दाउदले अब्नेर र तिनीसित आएका मानिसहरूका निम्ति भोज दिए।
२१ त्यसपछि अब्नेरले दाउदलाई यसो भने: “हे मेरा प्रभु, मेरा महाराज! अब मलाई जाने अनुमति दिनुहोस्। म गएर सारा इस्राएललाई तपाईँसामु जम्मा गर्नेछु र तिनीहरूले तपाईँसित करार गर्नेछन्। त्यसपछि तपाईँ आफूले चाहेअनुसारै पूरै देशको राजा बन्न सक्नुहुनेछ।” तब दाउदले अब्नेरलाई बिदा गरे र तिनी शान्तिसित आफ्नो बाटो लागे।
२२ त्यति नै खेर दाउदका सेवकहरू र योआब एउटा ठाउँमा आक्रमण गरी प्रशस्त धनमाल लुटेर फर्के। त्यतिबेला अब्नेर हेब्रोनमा थिएनन् किनकि दाउदले तिनलाई शान्तिसित बिदा गरिसकेका थिए।
२३ योआब+ र तिनीसित भएका सबै सिपाही फर्किसकेपछि तिनलाई यो खबर सुनाइयो: “नेरका+ छोरा अब्नेर+ राजालाई भेट्न आएका थिए। राजाले उनलाई बिदाबारी गरेर पठाउनुभयो अनि उनी शान्तिपूर्वक आफ्नो बाटो लागे।”
२४ त्यसैले योआबले राजाकहाँ गएर भने: “तपाईँले यो के गर्नुभयो? अब्नेर तपाईँकहाँ आएका थिए तर तपाईँले उसलाई किन त्यसै छोडिदिनुभयो?
२५ नेरको छोरा अब्नेर कस्तो छ भनेर तपाईँलाई थाहै छ! ऊ तपाईँलाई मूर्ख बनाउन यहाँ आएको थियो। तपाईँको एक-एक चाल बुझ्न र तपाईँको हरेक कामको जासुसी गर्न ऊ यहाँ आएको थियो।”
२६ त्यसपछि योआब दाउदको सामनेबाट गए र तिनले आफ्ना सन्देशवाहकहरूलाई अब्नेरको पछिपछि पठाए। तिनीहरूले अब्नेरलाई सिराहको इनारबाट फर्काएर ल्याए। तर यसबारे दाउदलाई केही थाह थिएन।
२७ अब्नेर हेब्रोनमा फर्केपछि+ योआबले तिनीसित गुप्तमा कुरा गर्ने बहाना बनाएर तिनलाई मूलढोकाभित्र एउटा कुनामा लगे। तर त्यहाँ योआबले तिनको भुँडीमा तरबारले घोपिदिए र तिनी त्यहीँ मरे।+ आफ्नो भाइ आसाहेललाई अब्नेरले मारेको हुनाले* योआबले यसो गरेका थिए।+
२८ केही समयपछि जब दाउदले यसबारे सुने, तब तिनले भने: “नेरका छोरा अब्नेरको हत्याको लागि यहोवा परमेश्वरसामु म र मेरो राज्य कुनै हालतमा दोषी ठहरिनेछैनौँ।+
२९ अब्नेरको हत्याको दोष योआब र उसको बुबाको सम्पूर्ण घरानामाथि परोस्।+ योआबको घरानामा धातु बग्ने रोग लागेको,+ कुष्ठरोग लागेको,+ कतुवा* चलाउने,* तरबारले मारिने वा खान नपाएर भोकभोकै बस्नुपर्ने मान्छेको कहिल्यै कमी नहोस्!”+
३० योआब र तिनका दाइ अबिसैले+ अब्नेरलाई+ मारे किनकि अब्नेरले तिनीहरूका भाइ आसाहेललाई गिबोनको युद्धमा मारेका थिए।+
३१ त्यसपछि दाउदले योआब र तिनीसित भएका सबै मानिसलाई भने: “आ-आफ्नो लुगा च्यात, भाङ्ग्रा लगाओ र अब्नेरको लागि विलाप गर।” राजा दाउदचाहिँ अब्नेरको अरथीको पछिपछि हिँडे।
३२ तिनीहरूले अब्नेरलाई हेब्रोनमा गाडे। अब्नेरको चिहानमा राजा दाउद डाँको छोडेर रोए र अरू सबै मानिस पनि रुन थाले।
३३ राजाले अब्नेरको विषयमा यस्तो शोकगीत गाए:
“हाय! अब्नेर किन एउटा निकम्मा मानिसझैँ मर्नुपऱ्यो?
३४ तिम्रा हात बाँधिएका थिएनन्,न त तिम्रा खुट्टा नै साङ्लाले बाँधिएका थिए।
तैपनि तिमी अपराधीहरूको सिकार भएको मानिसझैँ मऱ्यौ।”+
यो सुनेर सबै जना फेरि अब्नेरका लागि रुन थाले।
३५ पछि सबै मानिस दाउदलाई केही खानको लागि मनाउन आए।* त्यतिबेला साँझ परिसकेको थिएन। अनि दाउदले यस्तो कसम खाए: “घाम अस्ताउनुअघि मैले रोटी अथवा अरू केही आफ्नो मुखमा हालेँ भने परमेश्वरले मलाई अत्यन्तै कडा सजाय देऊन्!”+
३६ यो कुरा सबैले देखे र तिनीहरूलाई यो कुरा चित्त बुझ्यो। राजाले गरेका अरू सबै कामजस्तै यो कुरा पनि सबै मानिसलाई मन पऱ्यो।
३७ यसरी दाउदका सबै मानिस र सारा इस्राएलीहरूले नेरका छोरा अब्नेरको हत्यामा राजाको केही हात थिएन भनेर त्यो दिन थाह पाए।+
३८ त्यसपछि राजाले आफ्ना सेवकहरूलाई भने: “आज इस्राएलमा एक जना नाइकेको, एक महान् व्यक्तिको मृत्यु भएको छ भनेर के तिमीहरूलाई थाह छैन?+
३९ हुनत मलाई राजा अभिषेक गरिएको छ तर आज म निकै कमजोर भएको छु+ किनकि जेरुयाहका+ यी छोराहरू साह्रै क्रूर छन्।+ यहोवा परमेश्वरले दुष्टलाई त्यसको दुष्ट कामको प्रतिफल देऊन्।”+
फुटनोटहरू
^ लिङ्गको अघिल्लो भाग छोप्ने छाला।
^ शा., “अब्नेरले आसाहेलको रगत बगाएको हुनाले।”
^ वा “धागो कात्ने साधन।”
^ यसले लङ्गडो पुरुषलाई जनाएको हुन सक्छ, जो स्त्रीहरूले गर्ने काम गर्न बाध्य हुन्छ।
^ शा., “सान्त्वनाको (वा शोकको) रोटी दिनको लागि आए।”