सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रो अभिलेखालयबाट

तिनीहरूले सबैभन्दा राम्रो कुरा दिए

तिनीहरूले सबैभन्दा राम्रो कुरा दिए

 सन्‌ १९४५ मा दोस्रो विश्‍वयुद्धको अन्त हुँदा जर्मनीका धेरैजसो भाग भग्नावशेषमा परिणत भएका थिए। सहरहरू ध्वस्त भएका थिए, स्कुलहरू खाली थिए, अस्पतालहरू भताभुङ्‌ग भएका थिए र बमहरू जताततै छरपस्ट थिए। यसका साथै त्यहाँ खानेकुराको अभाव सृजना भयो, जसले गर्दा बजार भाउ अकासियो। उदाहरणको लागि, ५०० ग्राम मखन किन्‍नको लागि छ हप्ताको तलब खर्च गर्नुपर्थ्यो।

 युद्धको चपेटामा परेकाहरूमध्ये हजारौँ यहोवाको साक्षी पनि थिए। तिनीहरूले आफ्नो विश्‍वासको खातिर झ्यालखाना र यातना शिविरहरूमा वर्षौँ बिताउनुपऱ्‍यो। सन्‌ १९४५ मा तिनीहरूलाई रिहा गरिँदा तिनीहरूसित आफूले लगाएको लुगाबाहेक अरू केही पनि थिएन। अरू साक्षीहरूले आफ्नो सरसम्पत्ति गुमाउनुपऱ्‍यो। कोही-कोही त भोकभोकै भएकोले सभाहरूमा बेहोस समेत हुन्थे।

अन्य मुलुकका साक्षीहरू तुरुन्तै अग्रसर भए

 विश्‍वको अन्य भागहरूमा रहेका यहोवाका साक्षीहरू खानेकुरा र लुगाफाटा उपलब्ध गराउन तुरुन्तै अग्रसर भए। अमेरिकास्थित विश्‍व मुख्यालयका भाइहरूले जर्मनीका भाइहरूलाई मदत गर्न स्वीट्‌जरल्याण्डको बर्नस्थित शाखा कार्यालयलाई अनुरोध गरे। मुख्यालयका प्रतिनिधि नेथन एच. नोर राहतकार्यको समन्वय गर्न र छिटोछरितो तरिकामा काम अघि बढाउन युरोप जानुभयो।

सन्‌ १९४७ मा जर्मनीको विसबाडेनमा भाइ नेथन एच. नोर भाइबहिनीलाई सम्बोधन गर्दै हुनुहुन्छ। उहाँको पछाडि “हे जातिजातिका मानिसहरू हो, यहोवाको प्रशंसा गर” लेखिएको जर्मन भाषाको वार्षिक पद छ

 स्वीट्‌जरल्याण्डका साक्षीहरूले उदार भई खानेकुरा, लुगाफाटा र आर्थिक सहयोग गरे। सुरुमा ती सामानहरू बर्न पठाइयो। त्यहाँ सामानहरू छुट्ट्याएपछि प्याक गरेर जर्मनी पठाइयो। अन्य देशहरू, जस्तै: स्वीडेन, क्यानाडा र अमेरिकाका साक्षीहरूले पनि राहतकार्यमा मदत गरे। यसले गर्दा जर्मनीका साक्षीहरूले मात्र नभई युद्धको चपेटामा परेका युरोप र एसियाका थुप्रै देशका साक्षीहरूले लाभ उठाए।

आश्‍चर्यजनक नतिजा

 केही महिनाभित्रै स्वीट्‌जरल्याण्ड शाखाले कफी, दूध, चिनी, खाद्यान्‍न, ड्राइ फ्रुट, सागसब्जी अनि बट्टामा प्याक गरिएको माछामासु पठायो। त्यससँगै नगद सहयोग पनि पठाइयो।

 साथै स्वीट्‌जरल्याण्डका साक्षीहरूले ओभरकोट, महिलाहरूका लागि लुगा र पुरुषहरूका लागि कोट-पाइन्टसहित पाँच टन लुगाफाटा पठायो। यसबारे जनवरी १५, १९४६ अङ्‌कको प्रहरीधरहरा-मा यस्तो लेखिएको थियो: “हाम्रा भाइबहिनीले थोत्रोमोत्रो नभई आफूसँग भएको सबैभन्दा राम्रो कुरा दिए। तिनीहरूले जर्मनीका भाइबहिनीलाई मदत गर्न साँच्चै ठूलो त्याग गरे।”

 स्वीट्‌जरल्याण्डका साक्षीहरूले झन्डै १,००० जोर जुत्ता पनि पठाए। ती जुत्ताहरू पठाउनुअघि लाउन मिल्ने हो कि होइन भनेर राम्ररी चेक गरिएको थियो। जर्मनीको विसबाडेनमा बस्ने भाइबहिनीले बाकस खोलेर हेर्दा तिनीहरू छक्क परे किनभने ती सामानहरू गुणस्तरीय र थरीथरीका थिए। एक जना साक्षीले यसो भने: “यति धेरै गुणस्तरीय लुगाहरू र जुत्ताहरू भएको पसल जर्मनीमा कतै पनि छैन।”

 राहत सामग्रीहरू अगस्त १९४८ सम्म पठाइएको थियो। स्वीट्‌जरल्याण्डका साक्षीहरूले जर्मनीका भाइबहिनीको निम्ति जम्माजम्मी २५ टन बराबरको ४४४ क्रेट राहत सामग्रीहरू पठाए। यस राहतकार्यमा स्वीट्‌जरल्याण्डका साक्षीहरू मात्र संलग्न थिएनन्‌। वास्तवमा भन्‍नुपर्दा तिनीहरूको समूह सबैभन्दा सानो थियो। किनभने त्यतिबेला स्वीट्‌जरल्याण्डमा साक्षीहरू १,६०० जना मात्र थिए।

“आपसमा प्रेम गर”

 येसु ख्रिष्टले भन्‍नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।” (युहन्‍ना १३:३४, ३५) प्रेमले गर्दा नै यहोवाका सेवकहरूले आफूसँग भएको सबैभन्दा राम्रो कुरा दिए, आफूलाई नचाहिने कुराहरू मात्र होइन। (२ कोरिन्थी ८:१-४) जुरिकबाट प्राप्त एउटा पत्रमा यस्तो लेखिएको थियो: “केही भाइबहिनी आफै अभावमा थिए। तैपनि तिनीहरू मदत गर्न चाहन्थे। तिनीहरूले आफ्नो रासन कार्ड र पैसा दिएर भाइबहिनीलाई सहयोग गरे।”

 जर्मनीका साक्षीहरूले सतावट र युद्धको असर लामो समयसम्म भोगिरहनु परेन। यसको एउटा कारण भनेको आत्मत्यागी प्रेम देखाउने सङ्‌गी भाइबहिनीले व्यवस्थित तरिकामा र उदार भई दिएको मदत थियो।

स्वीट्‌जरल्याण्डको बर्नमा रहेको शाखा कार्यालयमा साक्षीहरू जर्मनीका भाइबहिनीको लागि दिइएको लुगाफाटा छुट्ट्याउँदै

बर्नमा रहेको शाखा कार्यालयमा अनुदानको रूपमा प्राप्त सामानहरूको क्रेट ट्रकमा लोड गर्दै

“यहोवाका साक्षीहरूको राहतकार्य” लेखिएका क्रेटहरूले भरिएको ट्रक

अनुदानको रूपमा प्राप्त सामानहरू जर्मनी पठाउनको लागि रेलवे कारमा लोड गरिँदै